बाबरको राजीनामापछि अफ्रिदी टी–२० को कप्तान, मसुद टेस्ट कप्तान नियुक्त

काठमाडौँ । बाबर आजमले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट र शाहीन शाह अफ्रिदीलाई ट्वान्टी–२० टिमको कप्तान घोषणा गरेको छ ।
साथै पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको निर्देशकमा पनि मिकी आर्थरको ठाउँमा पूर्वकप्तानसमेत रहेका मोहम्मद हफीजलाई ल्याइएको छ ।
३४ वर्षीय मसूदले आगामी महिना सुरु हुने अस्ट्रेलियाविरुद्धको ३ खेलको टेस्ट शृंखलामा पाकिस्तानी टिमको नेतृत्व गर्नेछन् । त्यस्तै आगामी वर्षको सुरुवातमा हुने न्युजिल्यान्डविरुद्ध हुने ५ ट्वान्टी–२० शृंखलामा अफ्रिदीले नेतृत्व गर्ने मौका पाउनेछन् ।
विश्वकप–२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।
यसक्रममा टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो । व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो । प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेको बाबरले बीचमा यसलाई पनि गुमाएका थिए ।
बाबरले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजबाट मैले सबै ढाँचाको क्रिकेटबाट पाकिस्तानी क्रिकेट टिमको कप्तानी छाडेको छु । यो निर्णय निकै कठिन रह्यो, तर यो उपयुक्त समय पनि हो ।’








