आगलागीमा परी गोरखामा आमाछोराको मृत्यु

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।

७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षका छोरा चनारसिंङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट अर्को टोली जाँदै छ ।’ आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए ।

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर पाएको बताए । ‘खबर आएलगत्तै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लाग्यो, बल्लतल्ल आगो नियन्त्रण गरेर घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पा¥यौँ,’ उनले भने ।

घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =