तिहारको कोसेली पाल्पाली ढाका (तस्बिरहरू)

काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । यस चाडले चेलीबेटी र माइतीबिचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् ।

टिकोटालोपछि चेलीबेटीले ढाकाको टोपी र दाजुभाइले दिदिबहिनीलाई ढाकाको चोलो, सल दिने चलन चलिआएको छ । ढाका र तिहारको सम्बन्ध पनि पुरानै रहेको पाल्पाली ढाका कपडा उद्योग स्वदेशी वस्त्र कला भण्डारका सागरमान महर्जन बताउँछन् ।

“दिदिबहिनीले टिका दिइसकेपछि शिर खाली नराख्नको र शिर छोप्नको लागी ढाकाको टोपी लगाइ दिने प्रचलन आएको हो “ उनी भन्छन्,“ दाजुभाइले पनि दक्षिणा सङ्गै चोखो ढाकाको कपडा, सल, चोलो आदि दिने चलन चल्दै आएको छ “ । ढाकाको टोपी दिने चलन उहिल्यै देखि रहेको इतिहासविदहरुको दाबी छ । “कुनै पनि राम्रो शुभ कार्यमा सल ओढाउने प्रचलन छ त्यसैलाइ जोडेर पनि तिहारमा दाजुभाइले दिदिबहिनीलाई सल ओढाउने चलन रहेको छ “महर्जन थप्छन् “धार्मिक सङ्गसङ्गै स्वास्थ्यलाई पनि जोडेर जाडो सुरु हुनअघि तिहारमा दिदिबहिनीलाई सल, चोलो दिने गरिँदै आएको छ “ ।

पाल्पाली ढाकालाइ प्राथमिकतामा राख्दै बजारमा मेशिनले बुनेको ढाकाको सामग्रीहरू बढिरहेको देख्दा पाल्पाका ढाका व्यवसायीहरू चिन्तित छन् । हाते तानले बुनेको ढाकालाई संरक्षण गर्न पाल्पाका ढाका उद्योगहरू मिलेर पाल्पाली ढाका सघं स्थापना गरेका छन् । पाल्पाली ढाकालाई बजारीकरण र व्यवस्थापन गर्नको लागी पाल्पाली ढाका सघं स्थापना भएको अध्यक्ष तथा पाल्पाली ढाकाकी संस्थापक पूर्णमाया महर्जनले बताइन् ।

इतिहास हेर्दा, पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौँमा बङ्गलादेशको राजधानी ढाकाबाट ढाकाको बुट्टेदार कपडा आउँथ्यो । वि स २०१५ सालतिर स्व गणेशमान महर्जनले बङ्लादेशबाट तानल्याएर पाल्पामा ढाका बुन्न सुरु गरेका थिए । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पामा पनि उत्पादन हुन थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो ।

दसै तिहार भनेको ढाकाको व्यापार उच्च हुने समय रहेको पौडेल पाल्पाली ढाका उद्दोगका मनोज राज शर्मा पौडेल बताउँछन् । कोभिड पछि बिस्तारै भ्रमणहरू पनि बढे सङ्गै पाल्पाका ढाका पसलहरूमा भिडभाड बढेको छ । नयाँ पुस्तालाई मध्यनजर गर्दै पाल्पाका उद्योगीहरूले ढाकाबाट उत्पादित कुर्ता, सर्ट, ल्यापटप ब्यागहरू पनि उत्पादनमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *