जन्ममितिमा कैफियत देखिएपछि उपरथी पाण्डेले दिए राजीनामा

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले उमेरको विषयमा छानबिन सुरु भएपछि राजीनामा दिएका छन् ।

बिहीबार साँझ उनले राजीनामा बुझाएको सैनिक उच्च स्रोतले बताए ।

उनलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भए पनि उनको फाइल जंगी अड्डाबाट अघि बढेको थिएन ।

स्रोतका अनुसार छानबिन समिति बनेपछि उनले हिजो बेलुका प्रधानसेनापति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ ।

‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ ।

एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ ।

तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ ।

तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =