कति दिनमा आउँछ सन्दीपको मुद्दामा अन्तिम फैसला ?

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बहस नोट मगाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र बहस नोट पेस गर्न जाहेरवाला, बादी र प्रतिवादीका नाममा आदेश दिएको हो ।
जिल्ला अदालतका रजिस्ट्रार रामु शर्माकाअनुसार मंसिर २२ गतेसम्ममा बहस मिसिल पेस गर्न र २४ गते सुनुवाइको लागि पेसी तोक्न आदेश भएको हो । बहस नोट मगाउने निर्णयसँगै सन्दीपविरुद्धको मुद्दाको फैसला आउन थप समय लाग्नेछ ।
बहस नोट कानुन व्यवसायीहरूले इजलासमा बहसका क्रममा पेस गरेका तर्कहरूको विस्तृत विवरण हो । ‘आफूले दिएका तर्कहरूलाई सहयोग गर्ने आधारहरू विस्तृत रूपमा पेस गरेका हुन्छन्,’ रजिस्ट्रार शर्माले भने, ‘इजलासमा बहस हुँदा न्यायाधीशले सुनेर कति टिप्न भ्याउनुहुन्छ कति भ्याउनुहुन्न तर बहस नोटमा विस्तृत भएकाले सुन्न नभ्याएको कुरा पनि पढ्न पाउनुहुन्छ ।’
बहस नोट प्राप्त भएपछि अदालतले यो मुद्दामा अन्तिम फैसला गर्ने ठानिएको छ । तर २४ गते अहिलेकै न्यायाधीशले हेर्छन् वा अन्य न्यायाधीशकोमा इजलासमा पर्छ भन्ने निश्चित छैन । ‘गोलाप्रथाबाट हुने हुनाले जुनसुकै न्यायाधीशको इजलासमा पनि पर्न सक्छ,’ उनले भने, ‘सबै न्यायाधीश उपस्थित नभएको अवस्थामा गोलामा स्थगितमा पर्यो भने भन्न सकिन्न नभए सुनुवाइ त हुन्छ ।’
के हो सन्दीपविरुद्धको मुद्दा ?
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ९क्यान०ले सन्दीपलाई निलम्बन गरेको थियो ।
वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो ।
सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दियो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।








