बङ्गलादेशलाई हराउनै पर्ने दबाबमा श्रीलङ्का

काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकपमा आज (सोमबार) श्रीलङ्का र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो सवाँ २ बजे दिल्लीको अरुण जेटली मैदानमा हुनेछ । त्यसअघि २ बजे टस हुने तालिका छ ।

सेमिफाइनलबाट बाहिरिइसकेको बङ्गलादेश आजको खेलमा जित निकाल्दै सन् २०२५ मा आयोजना हुने आइसिसी च्याम्पियनसिप ट्रफीमा छनोट हुन चाहन्छ । श्रीलङ्काको भने सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम छ । श्रीलङ्का बङ्गलादेशलाई हराउँदै सेमिफाइनल सम्भावना राख्न चाहन्छ । यदि हारले श्रीलङ्का विश्वकपबाट बाहिर हुनेछ ।

श्रीलङ्काले सात खेलमा दुई जितसहित चार अङ्क जोडेर सातौँ स्थानमा छ । बङ्गलादेश सात खेलमा एक खेल जितेर दुई अङ्कसहित नवौँ स्थानमा छ ।

दुईबिचको विश्वकप हेड टु हेडमा श्रीलङ्का बलियो छ । अहिलेसम्म खेलिएको चार मध्ये तीन खेल श्रीलङ्काले जितेको छ । एक खेल वर्षाका कारण अनिर्णीत भयो ।

एक दिवसीयमा दुई बीच ५३ खेल भएका छन् । जसमा श्रीलङ्काले बढी ४२ र बङ्गलादेशले कम ९ खेल जितेको छ । दुई खेलमा कुनै नतिजा आएन । दुई टोलीपछि पछिल्लो भेट एसिया कपमा भएको थियो । जहाँ श्रीलङ्का २१ रनले विजयी भएको हो ।

यस विश्वकपमा बङ्गलादेशका मोहम्मदुल्लाहले सर्वाधिक रन बनाएका छन् । उनले ६ खेलमा दुई सय ७४ रन बनाएका हुन् । उनको नाममा एक शतक र एक अर्धसतक छ । बङ्गलादेशका मेहदी हसन मिराजले सर्वाधिक ९ विकेट लिएका छन् ।

श्रीलङ्काका सदिरा समरविक्रमले सर्वाधिक तीन सय ३१ रन बनाएका छन् । उनी प्रतियोगितामा श्रीलङ्काको तर्फबाट सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन् । उनले सात खेल खेल्दा एक शतक बनाएका थिए । बलिङतर्फ दिलशान मदुसंका ११ विकेट लिँदा शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =