गण्डकी सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकको टोली

काठमाडौँ । गण्डकी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली पठाएको छ ।

भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् ।

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछ’ मुख्यमन्त्री पाण्डेद्वारा जारी अपिलमा भनिएको छ ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन् ।

शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *