भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट, १३२ जनाको मृत्यु पुष्टि

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोलीले काम गरिरहेको छ । दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिएको हो ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए । काठमाडौँबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ । सैनिक प्रवक्ता भण्डारीकाअनुसार प्रभावित क्षेत्रमा १६ जनाको मेडिकल टिम घटनास्थलमा घाइतेको उपचारमा खटिएका छन् ।

भूकम्पका कारण १३२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । प्रहरी संयन्त्रबाट संकलित यो तथ्यांक गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा प्रस्तुत गरिएको हो । तर, स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण टिपाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा हालसम्मको क्षति, उद्धार र राहतका कामबारे समीक्षा भएको छ । सशस्त्र प्रहरी बल, नेपालले दिएको जानकारी अनुसार, सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *