‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको बताएका छन् । उनले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताएका हुन् ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उनको भनाइ छ । सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो ।

केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो । नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा. अधिकारीले बताए ।

नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *