वर्तमान सरकारको नेतृत्वमा देश अगाडी बढ्न सक्दैन : सांसद पौडेल

काठमाडौँ । नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम, कारबाहीका कारण संसदको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसदको भूमिकालाई प्रभावकारी बनाउन नदिएको बताएका हुन् । उनले चालु अधिवेशनमा संसद प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरू जिम्मेवार रहेका बताए ।
उनले सरकारमा संसद प्रभावकारी हुने हो कि भन्ने भय देखिएको पनि बताए । सांसद पौडेलले संसारभर संसद प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताए ।
उनले सरकारले प्रतिपक्षको आवाज नसुनेका कारण प्रतिपक्षले वेल घेर्नुपर्ने अवस्थासम्म आउन पुगेको बताए ।
उनले भने ‘यो सरकारको काम, कारबाही प्रभावकारी हुन नसक्नुमा मुख्य रूपले सरकार जिम्मेवार छ । सरकारको दृष्टिकोण जिम्मेवार छ । सरकारका गतिविधिहरू जिम्मेवार छन् । कस्तोसम्म अवस्था सिर्जना भयो भनेदेखि मेरो दाबी के छ भन्दाखेरि सरकारले यो सदनलाई प्रभावकारी बन्न दिएन । प्रभावकारी बन्छ कि भन्ने चिन्ताबाट सरकार भयातुर भयो । दुनियाँभरि मानिन्छ सदन प्रतिपक्षको हो । प्रतिपक्षले जब उभिएर बोल्छ, सत्ताले ध्यानपूर्वक सुन्नुपर्छ । त्यहाँ व्यक्त भएका विचारहरूको सच्चाइलाई ग्रहण गर्नुपर्छ । ठिक समयमा ठिक ढंगले सम्बोधन गर्नुपर्छ । र सदनको आवाज सरकारले सुन्छ भन्ने सन्देश दिनुपर्छ । तर जगजायर छ कि सदनमा जायज मागहरू भन्नका लागि, सुनाउनका लागि ती मागहरू मन्जुर गर्ने ठाउँमा सरकारलाई पुर्याउनका लागि, सत्तापक्षलाई पुर्याउनका लागि प्रतिपक्षले आवाजमात्र उठाएर पुगेन, त्यसको निमित्त वेल घेर्नुपर्ने अवस्थासम्म सिर्जना भयो । दबाब दिनुपर्ने अवस्था सिर्जना भयो । प्रतिपक्षको आवाज सुन्नुपर्छ र त्यसको सच्चाइहरुलाई ग्रहण गर्नुपर्छ । अनिमात्रै सदन ग्रहणको स्थिति अन्त्य गर्न सकिन्छ भन्ने सत्यबोध सरकारलाई हुनुपर्छ ।’
सांसद पौडेलले संसदमा सांसदहरूले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको बताए । उनले सरकारले सांसदहरूको आवाजको जवाफ दिन आवश्यकता समेत महसुस नगरेको बताए । उनले सरकारले सांसदहरूको अपमान गरेको बताए ।
उनले भने ‘सांसदले जनसरोकारका विषयमा जिम्मेवारीपूर्वक उठाएका कुनैपनि आवाजहरूलाई सुन्ने, सम्बोधन गर्ने र ती आवाजमा रहेका सच्चाइलाई ग्रहण गर्ने दिशातर्फ कुनै कदम चालेन । यतिसम्म कि सांसदहरूले उठाएका आवाजहरूको जवाफ दिनसम्म पनि सरकारले आवश्यकता महसुस गरेन । सांसदहरू प्रति सरकारले गरेको अपमानको रूपमा म यसलाई चित्रण गर्न चाहन्छु । सांसदहरूले आवाज उठाउने र सांसदहरूले उठाएका आवाजलाई पूर्ण रूपमा बेवास्ता गर्ने सरकारको रवैया संसदको गरिमा, महत्वलाई, प्रतिष्ठालाई अवमूल्यन गर्ने दिशातर्फ अभिमुख छ ।’
सांसद पौडेलले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताए । उनले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनौती समेत दिए ।
उनले भने ‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन । भन्ने मलाई लाग्दछ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ । उसलाई यो ठिक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहन्छु, सरकारले फागुन १ गते युद्ध दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस् । त्यो आँट छ सरकारसँग रु यो सरकारसँग फागुन १ गते दिवस मनाउनुपर्छ, बिदा गर्नुपर्छ जसमा मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदन समक्ष प्रस्तुत गरोस् । र नेपाली जनताका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन् । नेपाली जनताका प्रतिनिधिहरूका सामुन्यमा, यो सदनका सामुन्यमा फागुन १ गतेको युद्ध दिवसका सन्दर्भमा त्यसको परीक्षण गर्न सरकार तयार छ ? मलाई लाग्छ, सरकारले त्यो आँट गर्ने छैन । म चुनौतीका साथ भन्न चाहन्छु यो गलत निर्णयबाट पछि हटोस् ।’
उनले सरकार प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुंग्याउन नचाहेको बताए । उनले वर्तमान सरकारको नेतृत्वमा देश अगाडी बढ्न नसक्ने ठोकुवा गरे ।
उनले वर्तमान सरकारको नेतृत्वमा सुशासन र समृद्धि हासिल हुन सक्दैन भन्ने छर्लङ्ग भएको बताए ।








