सबै मिलेर गएमात्रै सङ्क्रमणकालीन न्याय टुंग्याउन सकिन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुंग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताए ।
उनले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताए ।
उनले सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढे पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय टुंग्याउन सकिने बताए ।
उनले भने ‘शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छौँ । यद्यपि विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ । द्वन्द्वरत पार्टीहरू सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर पीडितहरू आज पनि प्रश्न छ ? सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ । हिजोसम्म नेताहरुबीचमा भएका छलफलले सकारात्मक सन्देश गरेको छ । हामी मिलेर जानेमा नै छौँ । सबै मिलेर जाने सहमति गर्नुपर्छ । सत्ता पक्ष र सरकारले त्यसमा प्रयत्न गर्नुपर्छ ।’
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।








