मकालु फिचर

‘मोटो’ भनेर हेट कमेन्ट आइरहन्छन् तर पनि उनले मोडलिङ छोडेकी छैनन्

रुपालाई सानै देखि चित्र कोर्ने निकै रहर थियो । उनी कहिले आँखा, मुख बनाउने गर्थिन भने कहिले लुगाको चित्र कोर्ने गर्थिन । अझै सात आठ कक्षा पढ्ने बेला त उनको कापीको पछाडिको पानामा पुतली, गाउन र राम्रा राम्रा ड्रेस लगाएको गुडियाको चित्रले भरिपूर्ण देखिन्थे । 

रङ्ग र कलामा निकै चाख राख्ने रुपाले फेशनमा सानैदेखि निकै रुचि देखाउँथिन । उनलाई फेशन पढ्ने रहर थियो । राम्रो राम्रो लुगा बनाउने चाहना थियो । तर उनको बाटोमा धेरै बाधाहरू थिए । 

सानैदेखि पढाइमा पनि राम्रो भएको कारणले घरबाट साइन्स पढ्ने दबाब थियो । फेशन पढ्न पाइने छ भनेर त उनले सोचेको थिइनन्, मोडल बन्नु त झन् टाढा को कुरा ।  

घरमा आमा बुवाको दबाबले उनले बाह्र कक्षा सम्म साइन्स नै पढिन । ब्याचलर पढ्ने बेला भन अब त आफ्नो भविष्य बनाउने हो भन्ने सोच लिएर आफूले सोचेकै विषय पढ्छु भनेर दृढ भइसकेकी थिइन् । 

केही उपाय नलागेपछि उनले बुबासँग झगडा गरिन । पहिला कसैले पनि यो विभागमा काम नगरेको भएर परिवारको साथ पाउन निकै गाह्रो थियो । तर मन बसिसकेपछि पछाडि फर्केर हेर्नु त सोचमै थिएन ।  

केही समय पछि उनको चाहना पुरा भयो । आफ्नो एक्ली छोरीको अगाडी आमा बुवाले नाइँ भन्न सक्नुभएन । आखिरमा उनको बुवाले नै सिलिगुडी लिएर जानु भयो । त्यहाँ उनी ‘आइ एन एफ डी’ नामक फेशन कलेजमा भर्ना भइन् । अनि सुरु भयो उनको फेशन र बिस्तारै मोडलिङ  को सफर ।

फेशनबारे सिकेर उनले शरीरको आकार, कपडाको स्तर र शैलीहरू बारे धेरै कुरा थाहा पाइन् । लुगा बनाउने सँगै त्यसको गुणस्तरबारे धेरै कुरा सिकिन् । लुगा बनाइसकेपछि त्यसलाई लगाइहेर्ने कोही मोडल चाहिन्थ्यो । त्यहाँ त्यस्तो मान्छे भेट्न अलि गाह्रो हुन्थ्यो । त्यसमाथि आफ्नै साइजको मोडेल खोज्दा त झन् उनले भेट्नै सकिनन् । केही उपाय नलागेपछि उनले आफै मोडलिङ गर्ने निधो गरिन । बिस्तारै आफ्नै लुगाहरूको मोडल बन्न थालिन । फोटोहरू सामाजिक सञ्जालमा राख्न थालिन ।

त्यसले बिस्तारै उनको परिचय बढाउँदै लग्यो । मान्छेहरूले चिन्न थाले । कम्पनीहरूले पिआर प्याकेज पठाउन थाले । झापा मै बस्दा पहिलो पल्ट पी आर प्याकेज आउँदा रुपा निकै खुसी भएकी थिइन् । उनलाई एउटा कम्पनी बाट लुगा पठाइदिइएको थियो । यसले उनको लागि अझै धेरै ढोकाहरू खोलिदियो ।

उनी काठमाडौँ पुगिन । त्यहाँ पहिलो व्यावसायिक सुट गराइन् । पहिलो शुट हुँदा आफू एक जना मात्र प्लस साइज मोडेल भएको रुपा बताउँछिन् ।

सुरुवातमा उनलाई सहज थिएन । उनी प्लस साइजको थिइन् । ‘त्यो बेला प्लस साइज मोडेल नेपालमा खास्सै थिएनन् । सबैतिर स्लिम मोडेल खोज्ने चलन थियो ।’ उनी भन्छिन् ।

आफ्नो लागि राम्रो लुगा पाउन पनि उनलाई निक्कै गाह्रो हुने गर्थ्यो । साइज मिल्ने भए लुगाको गुणस्तर नराम्रो हुन्थ्यो । राम्रो स्तरको लुगा आफ्नो साइजमा आउँदैन थियो । त्यो अवस्था अझै पनि फेरिएको छैन । अहिले मान्छेहरूले प्लस साइज मोडललाई स्वीकारेका त छन् तर अझै पानी काम पाउन निकै गाह्रो भएको उनको अनुभव छ ।

काम नपाउने चुनौती सँगसँगै अरू कैयौँ चुनौतीहरू छन् । ती मध्ये एक हो: हेट कमेन्ट । प्राय आफूले लुगा लगाएर भिडिओ बनाउँदा नराम्रो कमेन्ट आउँदो रहेछ ।

‘त्यही मोटो मान्छेले लुगा लगाउने त हो भन्ने गर्छन् ।’ उनी भन्छिन् ।

आफ्नो काम अरूले नबुझेको देख्दा उनलाई नराम्रो लाग्छ । तर आफ्नो काम मन पराइदिएका शुभचिन्तकहरूले त्यस्ता नराम्रा कमेन्टहरूमा पहिल्यै जबाफ दिइसकेको देख्दा खुशी पनि लाग्छ । आफूलाई साथ दिने यति धेरै मान्छेबिच ती हेट कमेन्टले उनलाई खासै असर गर्दैनन् ।  समय सँगसँगै आफ्नो परिवारले पनि आफ्नो कामलाई बुझ्दा रूपालाई आत्मबल मिलेको छ । 

अहिले सोसल मिडियामा आएका अरू प्लस साइज मोडेललाई हेरेर रुपा आफूले अझै प्रेरणा पाएको बताउँछिन् । 

सानो हुँदा उनलाई सानो सानो कुराले समेत छुने गर्थ्यो । ‘तर’ भन्ने शब्दले निकै खटखटाउथ्यो । ‘यति राम्री छौ तर अलि पातली भइदिएको भए ।’ मान्छेहरूले यस्तो भनिरहन्थे । 

तर अहिले भने उनले यी कुराहरूले आफूलाई हानि गर्न दिन्नन् । स्वस्थ खाने, पढ्ने, सकारात्मक सोच राख्नाले पनि उनलाई धेरै फाइदा पुगेको छ । 

‘कहिलेकहीँ धेरै तौल भएको कारण मान्छेले रोगको पनि सिकार हुने संभावना हुन्छ ।। ठिक्क खाएर आफ्नो ख्याल राखेमा त्यसले फाइदा पुर्याउछ । आफूले आफूलाई माया गर्न सिक्नुपर्ने रहेछ ।’

रूपालाई सबै भन्दा बढी प्रोत्साहन प्राप्त त एक जना डाक्टरले आफ्नो प्रशंसा गर्दा भएको थियो । रुपा आफै विज्ञान पढ्न छाडेर फेशनमा लागेकी हुन् । उनी जे छोडेर आएकी थिइन् त्यही क्षेत्रको मान्छेले प्रशंसा गर्दा उत्साहित भएकी थिइन् । 

तर केही ठाउँबाट यस्ता प्रोत्साहन आउने गरे पनि अझै धेरै कुरा बदलिन बाँकी रहेको उनी बताउँछिन् । उनलाई लाग्छ, समय बदलिँदै छ । यसपालिको मिस युनिभर्स पनि प्लस साइज भएकोले अझै धेरै धोका खुलेका छन् । तर अझै धेरै चुनौतीहरूको सामना गर्न बाँकी छ । 

नेपालमा फेशन सो भएको बेला प्लस साइज मोडेल खोजिँदैन । बरु स्लिम मोडेललाई धेरै प्रोत्साहन गर्ने गरिन्छ । यो साथसाथै प्लस साइज मोडेलको लागि भनेर छुटै सोहरू पनि हुँदैनन् । यी क्षेत्रहरूमा काम गर्न मिल्ने धेरै पक्षहरू छन् । 

लुगाको स्तरमा पनि धेरै काम गर्न सकिने ठाउँ छ । यदि आफू सँगै वा आफूले देखेको प्लस साइज मोडेल छन् भने अझै प्रोत्साहन गर्नु पर्दछ । एउटा स्लिम मोडेल र एउटा प्लस साइज मोडेललाई व्यवहार गर्ने तरिका नै निकै फरक छ । 

‘सबैलाई सँगसँगै लिएर हिँडेमा मात्र हामीले साँचैमा ‘बडी पजिटिभिटी’ लाई मनन गरेका हुन्छौ ।’ उनी कुरा टुङ्ग्याउँछिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *