टियु मैदानमा ओमानको सामना गर्दै नेपाल, ‘हेड टू हेड’मा को अगाडि ?

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबीचको खेलले समूह ए को विजेता निर्धारण गर्नेछ । दुबै टोली सेमिफाइनलमा पुगेका छन् । विश्वकप खेल्नको लागि दुबै टोलीको लागि यो खेल निकै महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

समूह बी मा युएई विजेता हुने सम्भावना छ। बहराइन, हङकङ र कुवेतमध्ये एक टिम उपविजेता हुने सम्भावना छ।

हेड टू हेड
नेपाल र ‌ओमानबीच टी २० अन्तर्राष्ट्रियमा अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।

नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो । २०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो । त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी २० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल र ओमानबीच पहिलो पटक २०१९ को अक्टोबरमा भएको टी २० भने ओमानले ६ विकेटको जित निकालेको थियो । त्यसपछि नेपाललाई हराउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *