निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ : मन्त्री देवी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेताहरूलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

उनले आचारसंहिता उल्लंघन गरेको प्रमाणसहित निर्वाचन आयोगमा उजुरी गर्दापनि सम्बन्धित व्यक्तिलाई कारबाही गर्न ढिलासुस्ती भएको बताइन् । उल्लंघन गर्नेलाई कारबाही गरे निर्वाचन प्रणाली सुधार हुँदै जाने उनको भनाई छ ।

कारबाही नगरेमा आचारसंहिता उल्लंघन गर्नेको मनोबल बढ्ने उनले बताइन् ।

उनले भनिन् ‘आचारसंहिता उल्लंघन गर्नेलाई अहिलेसम्म कतिलाई कारबाही भएको छ र ? कति त प्रमाणसहित नै उजुरी गएको छ । तर अहिले सम्म निर्वाचन आयोगबाट ढिलासुस्ती भएर हो कि, त्यसलाई नजरअन्दाज गरेर हो कि ? कारबाही भए सुधारको क्रममा जान्थ्यो कि । पैसा बाँडेको गाडीको फोटोसहित प्रमाण छ । कानुनी कारबाही नभएर उनीहरूलाई छुट दिएको हो कि जस्तो देखिएको छ विगतमा । माननीयले सरकारलाई, निर्वाचन आयोगलाई औँला ठड्याए । कतिपय हामीले नै पनि गल्ती गरेका छौँ नि त । हाम्रै पार्टीका नेताहरूले हेलिकप्टरमा चढेर गएको छ । मन्त्रीहरू गएका छन् । हामी आफूले संयमता राख्नु पर्दैन ? हाम्रो काम, कर्तव्य, अधिकार के हो भनेर हामीले पनि बुझ्नुपर्छ । एक अर्कालाई दोष दिएर मात्रै भएन । निर्वाचन आयोगलाई अनुरोध गर्छु कि, प्रमाण भेटिएमा हामीलाई कानुनी कारबाही हुनुपर्छ । त्यसका छुट दिएका कारण विगतदेखि मनोबल बढ्दै गएको छ । जुनसुकै आधारमा छुट दिनु भएन ।’

उनले निर्वाचनको बेलामा कर्मचारीहरूलाई उनीहरूको इच्छाअनुसार निर्वाचन अधिकृत बनाएर पठाउनु नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =