राष्ट्रपतिले आममाफी दिएका ‘रामचन्द्र’ ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन् ।

भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन् । पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो। राष्ट्रपतिबाट आममाफी पाएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन् ।

चितवन प्रहरीका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट कल गरेर हिन्दी भाषा प्रयोग गरी धम्क्याएर २५ लाख रुपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए ।

सुवेदीसँग पैसा माग गर्दै गरेको अवस्थामा थापालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *