महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महत्वपूर्ण भुमिका हुने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुङ्गोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले ।खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने ‘मेरो निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिवको चार दिने नेपाल भ्रमण आजदेखि औपचारिक रूपमा अगाडि बढेको छ । र, भर्खरै परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा रक्षामन्त्री र परराष्ट्र मन्त्रीसँग कुरा गरेपछि प्रधानमन्त्रीको लेबलमा अहिले भर्खरै बडो सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्यौँ। मुख्य रूपमा हाम्रो क्लाईमेट चेन्ज ९मौसम० परिवर्तनसँग सम्बन्धित विषयमा हामीले गम्भीर रूपले चर्चा गर्यौँ। र, नेपालमा त्यसको जो नकारात्मक परिणाम छ । त्यसलाई कम गर्नका लागि अन्तर्राष्ट्रिय समुदाय, मुख्य रूपमा संयुक्त राष्ट्र सङ्घको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको हामीले उच्च प्रशंसा गर्यौँ। र, आउने दिनमा अझ ठूलो सहयोगको अपेक्षा हामीले गर्यौँ। त्यसैगरी नेपालको शान्ति प्रक्रिया ट्रान्जिशन जस्टिज अन्तरगत जो अन्तिम चरणमा छ । त्यसलाई टुङ्गोमा पु¥याउन पनि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौँ। त्यसैगरी नेपालको आर्थिक विकास र समृद्धिको बारेमा, अनि हामी एलसिडीबाट ग्राजुयट हुँदैछौं । त्यो प्रक्रियालाई सहज बनाउन र एसडिजीमा २०३० सम्म हामी पुग्ने लक्ष्य राखेका छौँ । त्यसको स्मुथ ट्रान्जिसनका लागि पनि हाम्रो बीचमा असाध्यै सकारात्मक छलफल भयो । मैले निकै खुसी पनि व्यक्त गरेँ, सन्तुष्टि पनि कि महासचिवलाई नेपालको राजनीतिक उतारचढावबारे पनि सबैकुरा थाहा छ पहिले नै । नेपालको शान्ति प्रक्रियाको बारेमा, नेपालको जलवायु परिवर्तनको बारेमा असरको बारेमा पनि उहाँलाई सबै कुरा थाहा छ । धेरै भन्नै नपर्ने गरी उहाँले नै नेपालको हितमा र, नेपाली शान्ति सेनाको रूपमा विश्व शान्तिको निम्ति खेलेको भूमिका, नेपाली सेना, नेपालको पुलिसले खेलेको भूमिकाको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि त्यसमा गरेको योगदान अनुसार फिल्डमा पनि, हेडक्वार्टरमा पनि त्यसको उचित सम्मान होस् भन्ने कुरा पनि हामीले राख्यौँ । र, निकै नै सौहार्दपूर्ण र विश्वासको वातावरणमा हाम्रा कुरा भए । र, आउने दिनमा यो भ्रमणपछि राष्ट्र सङ्घ र नेपालको बीचमा र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौँ ।’
महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा उनीहरूको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गरे ।








