त्रिकोणात्मक टी–२० क्रिकेट फाइनलमा नेपाल पराजित, यूएई चार विकेटले विजयी

काठमाडौँ। शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई चार विकेट हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ४५ रनको योगदान गरे । वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले पनि टोलीका लागि २५ रनको योगदान गरे । वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित पाँच रन बनाए ।

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई—दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे । फाइनलमा नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएका थिएनन् । नेपाली बलरहरुले पनि प्रारम्भमा यूएईलाई निकै बढी रन दिए ।

यूएईले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई गुमाएको थियो । उनलाई नेपाली बलर गुल्सन झाले ४५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६।४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको थियो ।

यूएईले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई गुमाएको थियो । उनी २६ बलमा दुई चौकाको मद्दतले २५ रन बनाउँदै आउट भएका थिए । उनलाई कुशल मल्लले सन्दिप जोराद्वारा क्याच गराएका हुन् । विकेटकिपर ब्याट्सम्यान आर्यान्श आउट हुँदा यूएईले ९.३ ओभरमा ८५ रन बनाएको थियो ।

यूएईले तेस्रो विकेटका रूपमा आसिफ खानलाई सात रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले ६ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई गुल्सन झाले अविनाश बोहरामार्फत क्याच गराएका थिए । गुल्सन झाको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १०.५ ओभरमा ९४ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रूपमा एलिसन सराफु पेभेयिन फर्किएका थिए । उनी १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई अविनाश बोहराले कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा यूएईले १४।३ ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

यूएईको पाँचौँ विकेटका रूपमा वृत्य अरविन्द पेभेलियन फर्किएका थिए । उनी २५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गराएका थिए । उनी आउट हुँदा यूएईले १५।४ ओभरमा एक सय २७ रन बनाएको थियो ।

यूएईले छैठौँ विकेटका रूपमा अली नासिरलाई ११ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले नौ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए ।

त्यसअघि नेपालले टस हारी आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनाएको थियो । करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे ।

नेपालले आफ्नो पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हँुदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको थियो । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका थिए । ६।४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको थियो । उनलाई पनि यूएईका बलर आयान अफजल खानले नै बोल्ड गरेका थिए ।

नेपालले तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरेलगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए ।

कुशल भुर्तेललाई यूएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७।३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसअघि खेलको प्रारम्भमै चौका प्रहार गर्दा उनको ब्याट पनि भाँचिएको थियो ।

उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा उनको ब्याट भाँचिएको थियो । त्यसपछि उनले अर्को ब्याट लिएर खेल अगाडि बढाएका थिए । खेलका क्रममा उनी दुई पटक क्याच आउट हुनबाट जोगिएका थिए ।

यसैगरी नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२।१ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरेका थिए । दीपेन्द्र आउट हुँदा नेपालले १२।४ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

यसैगरी नेपालले छैठौँ विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १५।१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६।१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो ।

यसैगरी नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् ।

उनी आउट हुँदा नेपालले १७.४ ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =