तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौँ । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।
उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतीपूर्ण भएको बताए ।
उनले भने ‘प्रकृति संरक्षण गर्नेकुरा त्यति धेरै सहज कुरा होइन । धेरै थरी विषयहरू गाँसिएका हुन्छन् । यसैपनि जैविक विविधता र अरू प्रकारका विविधताले भरिपूर्ण हाम्रो देश जसमा यो कुराहरू असाध्यै चुनौतीपूर्ण छ । अहिलेको जलवायु परिवर्तनका चुनौतीहरू समेत सम्बोधन गर्दै त्यसलाई सामना गर्दै जानुपर्छ । अहिले संघीयतामा गएका छौँ । हिजोको भन्दा अलिकति फरक ढङ्गले पनि जानुपर्ने हुन्छ । प्रकृति संरक्षणमा तीनै तहका सरकार, सङ्घीय, प्रदेश र स्थानीय सरकारका कुरामा सबैसँग समन्वय, सहकार्य गरेर जानुपर्ने र कतिपय कुराहरू उहाँहरूको नीति तथा कार्यक्रममा भएका कुरालाई समेत यसमा समेटेर जानुपर्छ ।’
उनले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताए ।








