नेपालीहरू धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरूको सङ्ख्या उल्लेख्य भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकारहरू सँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले ती मुलुकहरूमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महसुस भएको बताए ।

उनले तत्काल दूतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भए पनि सरकारको उपस्थिति दर्जा गर्ने निर्णय भएको पनि बताए । त्यस्तै विद्यमान दूतावासहरूको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उनले बताए ।

उनले अप्ठ्यारो परेको अवस्थामा दूतावाससँग उद्धार गर्ने सामर्थ्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराए ।

उनले भने ‘विभिन्न मुलुकमा जहाँ नेपालीहरूको सङ्ख्या उल्लेख्य छ । जहाँ हाम्रो उपस्थिति अनिवार्य छ । त्यस्ता मुलुकहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ । यदि दूतावास खोल्न सक्ने अवस्था भएन भनेपनि ड्राइपोस्टिङको सिस्टमबाट हाम्रो उपस्थिति दर्जा गर्छौ भन्ने निर्णय गरेका छौँ । ड्राइपोस्टिङमा के हुन्छ भने, परराष्ट्र मन्त्रालयको उपसचिव तहको मान्छे, श्रम मन्त्रालयको एउटा अधिकृत र लोकल स्टाफ तिन जनाको सम्पर्क कार्यालय जस्तो हुन्छ त्यहाँ । त्यसले त्यहाँ श्रम स्वीकृति, श्रमका विभिन्न समस्याहरू, पासपोर्टका समस्याहरूको कुरा त्यहाँ हुन्छ । त्यसको म्यापिङ गरिरहेका छौँ कहाँ श्रम सहचारी राख्ने, कहाँ ड्राइपोस्टिङ गर्ने भन्ने कुरा गरिरहेका छौँ । भइरहेका विभिन्न दूतावासहरूमा साधन, स्रोतको कमीले गर्दा समस्याहरू भइरहेको छ । मलेसिया, खाडि मुलुक, जापान र कोरिया लगायतका दूतावासहरूमा केही जनशक्ति राख्न २० जनाको दरबन्दी कायम गरेका छौँ । स्थानीय स्टाफ राख्ने भनेको छौँ । दूतावासले तत्काल उद्धार गर्ने सामर्थ्य नभएको हुनाले अप्ठ्यारो परेको छ उद्धार कार्यमा । उनीहरूको लागि एउटा फन्डको व्यवस्था गरिदिएका छौँ । सेन्टरहरूमा पनि थप रकमको व्यवस्था गरिदिएका छौँ ।’

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरूको समूह बनाएर काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =