दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपैयाँदेखि सय रुपैयाँसम्म छुट

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी दुग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपैयाँदेखि सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको जानकारी गराएको हो ।
दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानले उत्पादन गरेका वस्तुहरू आम उपभोक्तालाई सहुलियत दरमा दिने निर्णय गरिएको मन्त्रालयकी प्रवक्ता सवनम शिबाकोटी अर्यालले बताए ।
जस अनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टाण्डर्ड दूधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ । त्यसैगरी दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाईमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
प्रवक्ता अर्यालले फ्रेस मिल्क २०० एमएल बोतलमा ५ रुपैयाँ छुट गरिएको पनि बताए ।
उनले भने ‘दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थहरू सहुलियत दरमा आम उपभोक्ताहरुलई उपलब्ध गराउने निर्णय गरिएको छ । जस अनुसार स्टाण्डर्ड दुघ प्रतिलिटरमा दुई रुपैयाँ छुट गरिएको छ । त्यसैगरी प्रतिलिटर १९० रुपैयाँ पर्ने दहीमा २० रुपैयाँ छुट गरिएको छ । पनिरमा प्रतिलिटर ५० रुपैयाँ, नौनी घ्यूमा प्रतिकेजी सय रुपैयाँ, कन्चन चीजको ५ सय ग्राममा ५० रुपैयाँ, फ्रेस मिल्क २०० एमएलमा ५ रुपैयाँ छुट गरिएको छ ।’
पत्रकार सम्मेलनमा चाल आर्थिक वर्षको प्रथम त्रैमासिकमा अनुगमनको क्रममा खाद्य तथा दाना बजार ४४५ पटक, खाद्य उद्योग १२९ पटक, होटल रेस्टुरेन्ट १९५ पटक गरी ७६९ पटक खाद्य अनुगमन निरीक्षण गरी म्याद गुज्रेका तथा प्रतिकूल गरी करिब २ लाख बराबरको सामग्री जफत गरी नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ । प्रवक्ता अर्यालले खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योग शिलबन्दी गरिए बताए ।
उनले भने ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट यस आवको प्रथम त्रैमासिकमा खाद्य ऐन तथा दाना पदार्थ ऐन कार्यान्वयनका लागि निरीक्षण गर्ने क्रममा खाद्य तथा दाना बजार ४४५ पटक, खाद्य उद्योग १२९ पटक, होटल रेष्टुरेण्ट १९५ पटक गरी ७६९ पटक खाद्य अनुगमन निरीक्षण गरी म्याद गुज्रेका तथा प्रतिकूल गरी करिब २ लाख बराबरको सामग्री जफत गरी नष्ट गरिएको छ । खाद्य ऐन प्रतिकूल उत्पादन गर्ने २ वटा उद्योग शिलबन्दी गरिएको छ । खाद्य ऐन तथा दाना पदार्थ ऐन प्रतिकूल नमुना उपर १९ वटा मुद्दा दायर गरिएको छ ।’
प्रवक्ता अर्यालले दशैलाई लक्षित गरेर खसी बजार अनुगमनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको पनि बताए ।








