विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारत सधैं हाबी, पाकिस्तान फेरि पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान फेरि पराजित भएको छ। आफ्नो दबदबा कायम राख्दै भारतले शनिबार शानदार जीत हासिल गरेको हो। अहमदाबादमा भएको खेलमा भारत ७ विकेटले विजयी भयो।
पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य भारतले ११७ बल बाँकी छँदै मात्रै तीन विकेट गुमाएर पूरा गर्यो। भारतले यसअघिका सातवटा विश्वकपमा पनि पाकिस्तानलाई हराएको थियो।
शनिबार भारतको जीतमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का हिर्काए । त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए । केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए ।
कुनै समय २ विकेट गुमाएर १५५ रन बनाउँदै पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको नाटकीय पतन सुरु भयो । त्यसपछिका कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन्।
जसको परिणाम सस्तैमा समेटिँदा जितको संभावना न्युन भएको थियो। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २-२ विकेट लिए।








