मणिपाल अस्पताल तोडफोड गर्ने दुईजना कारागार चलान, सात जनालाई धरौटीमा रिहा गर्न आदेश

पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने दुई जना कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतले शुक्रबार दुई जनालाई कारागार चलान गर्न र सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने छावा भन्ने शुशिल कार्की र पोखरा ५ मालेपाटन बस्ने विनय गुरुङलाई कारागार चलान गर्ने आदेश भएको कास्की प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न संजय पिडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदिप गुरुङसँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य केही व्यक्तिहरू फरार छन्।
यही असोज ७ गते लमजुङको सुन्दरबजार नगरपालिका ६ बस्ने वर्ष ५७ की सुक माँया दुरा स्वास प्रस्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई उपचारको लागि पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उपचारको क्रममा ८ गते डाक्टरले मृत घोषणा गरेका थिए।
सो घटनामा मृतकका आफन्तहरूले उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भएका थिए।








