कोशी सरकार : सांसदहरुको सनाखत भोली गर्ने तयारी

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत भोलि गर्ने तयारी भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियूक्त गर्नुपूर्व सांसदहरुको सनाखत भोलि मात्रै गर्ने बताएपछि मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीले विरोध जनाएका छन् ।
एक सांसदले भने–‘प्रदेश प्रमुखले सनाखतका लागि समय माग्नुभयो । केदार जी र हिक्कमत जीले हामी बहुमत सदस्य यतै छौँ, अहिले नै सनाखत गरौँ भन्नुभएको छ । अहिले छलफल चलिरहेको छ ।’
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
आङ्बोले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।









