भारतीय प्रधानमन्त्री मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिना जानकारी नेपाली भुमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भुमिमा बिना जानकारी आउँदापनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताए ।

उनले यसमा सरकारको नालायकीपन देखिएको बताए । सरकार विदेशी प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा समेत लाचार भएको बताए ।

उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशमा सरकारमा जानु नहुने पक्षमा रहेको बताए ।

उनले भने – ‘नेपाल सरकारको नालायकपनको कारणले, ज्यादा भारतमुखि भएको कारणले । त्यो सोधि राख्नुपर्ने जरुरी छैन । तर दुर्भाग्य हामी नेपालीहरुको हो । यसरी छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भुमिमा जानकारी नै नदिएर आउँदाखेरी पनि सरकार लाचार भइकन सरकार टुलुटुलु हेरिराखेको छ । यो सरकारबाट हामीले के आशा राख्ने ? छिमेकी राष्ट्रको प्रधानमन्त्रीजस्तो मान्छे थाहा नै नपाइकन त्यहाँका नेपाली जनतासँग भेटेर, अंगालो मारेर कुरा गर्नु भनेको त्यही पनि यो सरकारले टुलुटुलु हेर्ने बाहेक आशिर्वादको सरकार ।’

नेकपा(एमाले)का सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भुमि कालापानी क्षेत्रको भ्रमण गरेको बताए ।

उनले भारतीय प्रधानमन्त्री मोदीले सामान्य शिष्टाचार र कुटनीतिक मर्यादा विपरित कालापानी क्षेत्रको भ्रमण गरेको बताए ।

उनले मोदीको यसप्रकारको भ्रमणलाई सही भन्न नसकिने बताए । उनले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल भारत सम्बन्धको विपरित रहेको बताए ।

उनले कालापानी नेपाली भुमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताए ।
उनले भने – ‘भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, सामान्य कुटनीतिक मर्यादा र एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न भौगोलिक रुपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपाल बीचको सम्बन्ध र त्यसको सामान्य मर्यादालाई समेत उल्लंघन गरेर उहाँले आफ्नो भ्रमण गर्नुभएको छ । यो कुनैपनि हिसावले नेपालले यसलाई यसको पक्षमा अथवा यो कुरा सही हो भन्न सक्दैन । यो अत्यन्त गलत काम भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौँ । भारतको प्रधानमन्त्रीले जसरी नेपाली भुमिमा आफ्नो भ्रमण गर्नुभयो, त्यो चाहीँ नेपाल र भारतबिचको सम्बन्धको विपरित छ । सामान्य कुटनीतिक मर्यादाको बिरुद्ध छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले कुटनीतिक सक्रियता र भुमिकालाई बढाउनु जरुरी रहेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै यसले छिमेकी देशलाई विश्वासमा लिदै कुटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताए ।

उनले बरोजगारीका कारण युवाहरुमा असन्तुष्टि र निराशा बढेको भन्दै रोजगारी सिर्जना गर्न नीति निर्माणको तहबाट आफूहरु भुमिका खेल्न तयार रहेको बताए ।

उनले कोशी प्रदेशमा देखिएका समस्या नयाँ मुख्यमन्त्री निर्वाचित भएसँगै समाधान हुने विश्वास व्यक्त गरे ।

उनले भने – ‘समाजमा खासगरी बेरोजगारीका कारणले ज्यादा असन्तुष्टि र निराशाको मात्रा बढेको छ । त्यसैले हामीले रोजगार, स्वरोजगार कसरी तुल्याउन सकिन्छ भनेर नीति निर्माणको तहमा, राज्य सञ्चालनको तहमा बसेका अगुवाहरुले, जिम्मेवार व्यक्ति, व्यक्तित्वहरुले ज्यादा सोच्नुपर्छ । कोशी प्रदेशमा एउटा अस्थिरताबाट मुक्ति मिल्ने प्रारम्भिक संकेतहरु आएका छन् । जहाँसम्म त्यहाँको नामांकनको कुरा केही बहशमा छ । त्यो बहशलाई नयाँ आउने मुख्यमन्त्रीले राजनीतिक तहबाट डिलिङ गरेर हल गर्नुहुन्छ । कुटनीतिक हिसाबले हाम्रो सक्रियता र हाम्रो भुमिका जिम्मेवार ढंगले र बुद्धिमतापूर्ण ढंगले कुटनीतिक सक्रियता जरुरी छ भन्नेकुरा यि तथ्यहरुले देखाउँछन् । मलाई लाग्छ सरकारले पनि सुन्यो होला । म यतिमात्र भन्न चाहान्छु कि नेपालका तर्फबाट छिमेकीहरुलाई विश्वासमा लिदैँ हाम्रो कुटनीतिक सक्रियता बढाउनु जरुरी छ ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महाकाल क्षेत्रको भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए ।

उनले राजकीय भ्रमणका रुपमा नेपाली भुमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै उनले व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरुकै कुरा भएको बताए ।

उनले नेपाल–भारत बीचमा रहेका समस्याहरुलाई कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि बताए ।

उनले भने – ‘उहाँ राज्यलाई थाहा दिएर आधिकारिक रुपमा प्रवेश गर्नुभएको होइन । त्यसैले राज्य व्यवस्था समितिले त्यो बारेमा धेरै चासो लिएन । उहाँ सरकारको तर्फबाट राजकिय भ्रमणको रुपमा आउनु भएको भए राज्यले नै सत्कार र सम्मान गर्नुपथ्र्यो । व्यक्तिगत भ्रमणमा आएको कुरा हो यो । व्यक्तिगत भ्रमणमा पनि सामान्य परराष्ट्र मन्त्रालयलाई जानकारी छ कि छैन, राज्यका कुन–कुन संयन्त्रलाई जानकारी दिनुभयो उहाँहरुको कुरा हो यसमा राज्यको तर्फबाट चासो लिएको छैन ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी सातै प्रदेश सरकार र संघीय सरकारमा पनि आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =