सबै नीतिगत निर्णयहरू अख्तियारलाई छानबिन गर्न दिनु उचित हुँदैन : सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरू अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताएका छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अख्तियारलाई सबै निर्णय छानबिन गर्न दिँदा प्रधानमन्त्री बलियो हुन नसक्ने बताए ।

उनले मन्त्रीपरिषद्का निर्णयहरूलाई पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी प्रावधान बनाउन जरुरी रहेको बताए । उनले संवैधानिक ढाँचाभित्र सन्तुलन खोज्दा दुवै पक्षलाई राम्रो हुने बताए ।

उनले भने ‘भ्रष्टाचारको स्तर देशको सीमा नाघेर बाहिर पनि पुग्न थालेको छ । त्यसलाई विद्यमान कानुनले त थेग्न सक्दैनौँ । त्यसलाई कभर गर्न सक्दैन । त्यसो हो भने यहाँहरूले सरकारलाई कति पटक के के भन्नुभयो, कसरी समाधान गर्ने भन्नेकुरा हो । सबै नीतिगत निर्णयहरू अख्तियारले छानबिन गर्न दिने भन्यो भने प्रधानमन्त्री कति बलियो हुन्छ । प्रधानमन्त्रीमाथि भोलि अख्तियारले नै अर्को सरकार हुने हो की ? किनभने हाम्रो त समग्र संवैधानिक ढाँचाभित्र सन्तुलन पनि खोज्नुपर्छ । प्रत्येक निर्णय अख्तियारले हेर्न पाउने हो भने प्रधानमन्त्रीको अपमान हुन्छ । सँगै तपाईँहरूलाई हेर्न नदिने हो भने जे निर्णय पनि क्याबिनेटमा पठाइदिने भयो । यस बीचको सन्तुलनकारी नीति र प्रावधान के हुनसक्छ ? यो बारेमा सोच्नुपर्छ । सबै अधिकार दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर हुन्छ । यसमा मध्यकारी प्रावधान हुनुपर्छ ।’

सांसद पन्तले सबै नीतिगत निर्णय अख्तियारलाई दिन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =