हिरासतमै कुटिएको भन्दै थुनुवाले दिए उजुरी

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकास्थित वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ । आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो ।

गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको उनले बताए । आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो कुटाइबाट घाइते भएका युवा दीपेन्द्र अर्यालको आरोप छ ।

वालिङका अर्यालसहित अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो । हिरासतमा रहेकै अवस्थामा मध्यराति १ बजेसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै केला कुटपिट गरी घाइते बनाएपछि उपचारका लागि गह्रौँ प्राथमिक अस्पतालमा लगिएको अर्यालले बताए । अस्पतालले अर्यालको अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि बुटवल रिफर गरेको थियो ।

पीडित अर्याल एक हप्तापछि उपचार गरेर पुनः प्रहरीको सम्पर्कमा आएका छन् । उनको शरीरमा नीलडाम र खुट्टामा गहिरो चोट लागेको प्रस्ट देखिन्छ  । उपचारको सबै रिपोर्टसहित उजुरी गरिएको अर्यालको भनाई छ । कुटपिट मुद्दामा जिल्ला अदालतबाट सामान्य धरौटीमा छुटेपछि उनीहरू न्यायका लागि जिल्ला प्रशासन र मानव अधिकार आयोगमा उजुरी गर्न पुगेका हुन् । हिरासतमा रहेका बेला प्रहरी निरीक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको आरोप उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *