मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताए । सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताए ।
मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरीतिलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताए । उनले समावेशी र समानुभुतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरुद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानकासाथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले भने ‘सबै क्षेत्रहरूले पनि मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरूलाई प्राथमिकता दिनु उत्तिकै महत्त्वपूर्ण छ । हाम्रा परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । त्यसै गरी, वैदेशिक रोजगारीमा रहेका हाम्रा नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न हामीले अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ । स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्छ । तर्जुमा गरिएका योजना र कार्यक्रमहरू कार्यान्वयनका लागि प्रभावकारी समन्वय र सहकार्य जरुरी छ । त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनको प्रबन्ध गर्न नेपाल सरकार गम्भीर रहेको कुरा पनि म जानकारी गराउँछु । हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट मानसिक स्वास्थ्यको सम्बोधनका लागि योगदान गर्न सकिन्छ । तसर्थ, स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम गरौँ । मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ । दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिऊँ र सहयोग गरौँ । तनाव र समस्यामा परेकाको कुरा सुनौँ र मद्दत गरौँ । यदि मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ । अन्य व्यक्तिलाई उपचार सेवा लिन उत्प्रेरित गरौँ । भेदभावरहित समाज निर्माण गर्न र सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेमा पनि मानसिक स्वास्थ्यको निम्ति ठूलो लगानी हुनेछ ।’
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संशोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताए ।








