अधिवेशनका लागि धनगढी पुगे ओली, भीम रावललाई निषेध

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् ।
अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन् ।
तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावल भने आफ्नै गृह प्रदेशको अधिवेशनमा पनि अनुपस्थित भएका छन् ।
अधिवेशनमा आमन्त्रण नगरेकाले आफू अधिवेशनमा सहभागी नभएको रावलले बताए । ‘म गृह जिल्ला अछाममै छु’, रावलले भने, ‘मलाई अधिवेशनबारे कसैले जानकारी गराएको छैन । कुनै जानकारी नै नभई जाने कुरा भएन’,रावलले भने ।
गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् ।
गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन ।








