सरोकारवालाहरूको माग सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संविधानसम्मत ढंगले सरोकारवालाहरूको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे । सरकारले सरोकारवालाहरूसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतिकै आधारमा अघि बढाउन उपयुक्त हुने उनको तर्क थियो ।

प्रमुख सचेतक लेखकले भने ‘सरकारले यो विधेयकलाई पर्याप्त रूपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरूको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुङ्ग्याएको छ । विधेयक प्रस्तुत भएको छ । त्यसो भएको हुनाले यो विधेयकको आवश्यकता पनि धेरै ज्यादा भएको हुनाले सरोकारवाला सबैको विचारलाई समेटेर र आम नागरिकका पनि धारणाहरू बुझेर सदनले नै यसलाई अगाडि बढाउन सक्ने भएकाले यो सदनबाटै अगाडि बढाएर चाँडो यसलाई किनारामा पुर्याउन उचित हुन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा भनेको विभिन्न कोणबाट यो विधेयकबारे प्रश्नहरू उठेका छन् । यो विधेयक संविधानको भावना अनुरूप बन्नुपर्छ भन्ने कुरा पनि उठेको छ । र, यो विधेयकमा सरोकारवालाहरूको धेरै चिन्ता, चासो उठेका छन् । यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरूको सबै चिन्ता र चासोलाई समेटेर सहमतिका साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनु पर्छ । ’

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =