नेताको फेरिएको दैनिकी- ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन् । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन् ।

गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उहाँले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याएका छन् । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउँछन् । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो ।

विसं २०७५ देखि नै पार्टी राजनीतिसँगसँगै आरन उद्योगमा समेत उहाँले आफैँ काम गर्न थालेका थिए । करिब एक रोपनी जग्गामा मासिक रु सात हजार शुल्क तिर्ने गरी भाडामा लिएका उनले आरन उद्योगसँगसँगै सामग्री बिक्रीकक्षसमेत सञ्चालन गरेका छन् ।

केही वर्षअघिसम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने उनी अहिले आफ्नै पौरखको पेसामा फर्किका छन् । ‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाहीँ पार्टीको बैठक, भेला, प्रशिक्षणहरूमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दिनँ, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु,’ उनले भने ।

जिल्लामा पार्टी सङ्गठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधिसमेत कम हुने र घरपरिवारको जीविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेसा–व्यवसायको रूपमा राजेका थिए । सङ्घीयता नआउँदै जिल्लास्तरमा राजनीतिक दलका नेताहरू बैठक, अन्तक्र्रिया, सभा, समारोह, योजना, अनुगमनलगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भए पनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्लास्तरीय नेताहरूको भूमिका खुम्चिएको छ ।

पार्टी कामबाहेक अन्य समय फुर्सदिलो हुने भएकाले आफूले आरन उद्योग खोलेको नेता विश्वकर्मा बताए । सुरुआतमा रु तीन लाख लगानीबाट आरन सञ्चालन गर्नुभएका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरणसमेत गरेका छन् । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भए पनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उनको भनाई छ ।

विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामग्री निर्माण हुने गरेको छ । उद्योगमा आफूसँगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताए ।

‘राजनीति सेवा हो, घरिवार चलाउन त पेसा अँगाल्नै पर्यो, आफूले गरेको पेसाले पुख्र्यौली पेसाको संरक्षण र कृषि उत्पादनमा टेवा पुर्याओस् भन्ने चाहनाले आरन खोलेको हुँ,’ उनले भने । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको उनले बताए । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुवा–आमा, दुई छोरा र श्रीमतीसहित छ जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

आरनमा आवश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामग्री र औजारको बजारीकरणमा देखिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *