बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा गरेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको एक सूचनामा भनिएको छ, “गैरकानुनी प्रवेश रोक्नका लागि अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण गर्न तत्काल आवश्यक छ।”

“अमेरिका–मेक्सिको सीमाको ‘उच्च अवैध प्रवेश’ रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिनेछ,” मेयरकासले भने। यस आर्थिक वर्षमा अमेरिकामा दुई लाख ४५ हजारभन्दा बढी व्यक्ति अवैधरूपमा प्रवेश गरेका छन् ।

स्मरणीय कुरा के छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेकै दिन एक घोषणा गर्दै सीमामा पर्खाल निर्माण गर्न करदाताको थप रकम नछुट्याइने घोषणा गरेका थिए।

उक्त घोषणामा बाइडेनले भनेका थिए, “पूरै दक्षिणी सीमामा ठूलो पर्खाल लगाउनु गम्भीर नीतिगत समाधान होइन ।”

मेयरकासले सन् २०१९ मा ट्रम्प सत्तामा रहेका बेला अमेरिकी संसद्ले उक्त प्रयोजनका लागि गरेको विनियोजनबाट थप पर्खाल निर्माणका लागि रकम प्राप्त हुने बताएका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकाअनुसार स्वच्छ हावा ऐन र लुप्तप्राय प्रजाति ऐन जस्ता करिब दुई दर्जन सङ्घीय कानूनलाई सीमा पर्खाल विस्तारका लागि अनुमति दिनका लागि छुट दिन आवश्यक छ ।

बाइडेनका लागि अवैध आप्रवासन एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ र विपक्षी रिपब्लिकनहरूले उहाँमाथि सीमा नीतिमा ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमप्रति प्रतिक्रिया दिँदै भने, “बाइडेन प्रशासनको कदमले ‘५६० माइल विल्कुल सुन्दर र नयाँ पर्खाल निर्माण गर्दा म सही थिएँ’ भन्ने देखाएको छ ।”

पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन्, “के जो बाइडेनले एक करोड ५० लाख गैरकानूनी आप्रबासीलाई हटाउन ढिलो गरेकोमा म र संयुक्त राज्य अमेरिकासँग माफी माग्नुहुनेछ ?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =