नेपालगञ्जको सामाजिक सद्भाव नभड्काउन सांसद जबराको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले नेपालगञ्ज सद्भावको सहरको रूपमा उल्लेख गर्दै त्यहाँको सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका हुन् ।
नेपालगञ्जमा दुई समुदायबिचमा उत्पन्न भएको तनावका कारण आजै कर्फ्यु लगाउनुपर्ने स्थिति बनेको छ । सांसद जबराले दुई समुदाय बिचको तनावको कारण मोबाइलको सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।
उनले साइबर क्राइमलाई नियन्त्रण गर्न सकिएन भने देशका विभिन्न भागमा दंगाहरु भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले आ–आफ्नो विरोधको कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न दुवै समुदायलाई आग्रह गरे ।
उनले भने ‘हिंसाको घटनाहरू चाहे मधेस प्रदेशका होस् । चाहे अरू विभिन्न भागमा होस् । तुरुन्तै नियन्त्रणमा ल्याउनुपर्यो । यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो । साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्नु पर्यो नत्र देशभरी चाहे गौहत्या कुरा होस् । चाहे मासु खाने कुरा होस् । चाहे हिन्दु, मुसलमानका झडपका कुरा होस् । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर दोषीहरूलाई ठाउँका ठाउँ कारबाहीमा ल्याइएन भने यो देशमा विभिन्न ठाउँमा दंगाहरु भड्किने सम्भावनाहरू बढिरहेको छ । म नेपालगञ्जका दुईवटै समुदायका साथीभाइ हामीहरू एउटा सद्भावको सहर भनेर नेपालगञ्जलाई बनाइरहेका छौँ । त्यो सद्भावलाई कायमै राखेर सबै शान्तिपूर्ण रूपले आ–आफ्नो विरोध गर्न पाइन्छ । तर उग्र र हिंसाको बाटोलाई लिएर हाम्रो सद्भावको सहरमा अशान्तिको भावनाहरू नखलबल्याइदिन र सद्भाव नखलबल्याउन नेपालगञ्जवासीहरुलाई विनम्र अनुरोध गर्दछु ।’
उनले संयमित भएर नेपालगञ्जको शान्ति र सुरक्षालाई कायम राख्न पनि आग्रह गरे ।








