जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव २०८० सुरु

काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान’ भन्ने नारा सहित जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधवार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरिन् । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्द्धन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताइन् ।
साथै नेपाली उत्पादनहरू प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरिन् ।
यसैगरी उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूहद्वारा स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरुकोे वीचमा पुर्याउने र आम उपभोक्ताहरूलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरूमा विभिन्न खालका मेला महोत्सवहरू आयोजना गर्दै आइरहेको जानकारी गराए ।
जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ ।








