‘पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक’

काठमाडौँ । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा न्युज एजेन्सी नेपालले आयोजना गरेको ‘हाम्रो पर्यटन, अब कता ?’ विषयक अन्तरक्रियामा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यमान ऐन, कानुनहरूले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानुनलाई समयानुकूल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने बताएका छन् । त्यस्तै विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा बोल्दै पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानुनले नचिन्ने अवस्था रहेको बताए । उनले पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको बताए । उनले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडि बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले नेपालको विकासमा पर्यटन क्षेत्रको विकल्प नभएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए । उनले व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्नेमा जोड दिए । उनले नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा हाल भएका कानुनहरूको कार्यान्वयन भएमात्रै पनि धेरै राहत हुने बताए । उनले ऐन, कानुन भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छेपनि उपयुक्त हुनुपर्ने बताए । उनले सम्बन्धित मन्त्रालयको मन्त्री, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतीको रुपमा पूर्वाधारको अवस्था रहेको बताए । उनले त्यसका साथै नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको बताए । उनले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले देशको नीति पर्यटनमैत्री नभएको भन्दै पर्यटनमैत्री नीति बनाउनु जरुरी रहेको बताए । उनले पर्यटकलाई विमानस्थल, अध्यागमनमा समस्या हुने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । त्यस्तै संघीय सरकारले पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनले बताए ।

होटल एशोसिशयन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालमा दिन प्रतिदिन होटलहरु थप भइरहेका भन्दै यसमा खुसी हुनुपर्ने बताए । उनले होटल सञ्चालन क्षमताको एकतिहाइ क्षमतामा मात्र होटल सञ्चालन भइरहेको बताए । उनले काठमाडौँ, भैरहवा र पोखराको विमानस्थल राम्रोसँग चलाउन सके ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा होटल क्षेत्र रहेको बताए ।

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटक आवागमन गर्ने सडक चुस्त, दुरुस्त हुनुपर्नेमा जोड दिए । त्यस्तै पर्यटकहरुलाई घुम्नका लागि एकद्वार प्रणाली बनाउनुपर्ने उनले बताए ।

टुरिष्ट गाइड एशोसिशयन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले देशमा अनुभवी गाइडहरु घट्दै गइरहेको बताए । उनले टुरिष्ट गाइडहरु प्रोत्साहित हुन नसकेको बताए । उनले गाइडहरु दुई महिना काम गरेर बाँकी १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आउनु नहुने बताए ।

कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवर्द्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताए । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै उनले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *