सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा तोकिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला–२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

तर यसबीचमा अदालतमा फरक–फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्मदर्ता गर्दाको जन्ममिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्मदर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।

पछि सन्दीपले आफूले बयानका क्रममा पीडितको जन्मदर्ता भनी पेस गरेको कागजात एक शुभचिन्तकले दिएको र आफूले उनलाई नचिन्ने बताएका थिए । न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोगपत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्ममिति १८ जेठ २०६२ नै उल्लेख छ ।

सन्दीपले पीडित किशोरी जन्मिँदा अदालतको अभिलेख किताबको विवरण पनि फरक परेको पाइएको थियो । उनले पीडितको जन्ममिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेर जस्ता विवरण फरक परेका कारण सत्यतामा प्रश्न उठेको थियो । त्यसपछि सन्दीप पक्षले जिल्ला अदालतमा पेश गरेको गौशाला २६ का अभिभावकको बसाइसराइको कागजपत्रबाट उनी १८ वर्ष उमेर पूरा भएको पुष्टि हुन सकेको थिएन । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *