घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकताः पारस खड्का

नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा पारस खड्का विजयी भएका छन्।प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित भएका हुन्।

कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याउनुभएको थियो भने प्रशान्तले ३७ मतमा प्राप्त गरे।

निर्वाचित भइसकेपछि खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताए। उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताएका छन्। उनले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने धारणा राखे।

उनले भने, ‘चुनाव त्यति सहज रहेनछ । मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुनेथियो । तरपनि अहिले निर्वाचित टिम पनि राम्रो बनेको छ भन्ने लाग्छ । धेरै मानिसले पासर खड्काले के गर्छ ? क्यानमा आएर भन्ने थियो । यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन । नेपाल क्रिकेटले मलाई सबै कुरा दिएको छ । मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन्, तिनीहरुलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भुमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि कसरी बढाउँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिवद्धता गर्छु । सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ । नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु ।’

उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *