क्यान अध्यक्षमा चतुर कि विनय ?, पारस सचिवमा उठ्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाइएको छ ।

यसैबिच हिजो शुक्रबार साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनावको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।

विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको मात्रै नामावली सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

क्यानको अध्यक्षको निर्वाचनमा चतुरबहादुर चन्दलाई बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले चुनौती दिने भएका छन् ।

निर्विरोध निर्वाचित हुने तयारीमा रहेका चन्दलाई अन्तिम समयमा भण्डारीले चुनौती दिने घोषणा गरेका हुन् । क्यानका वर्तमान अध्यक्ष चन्द फेरि सो पदमा दोहोरिने तयारीमा रहेका छन् ।

भण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।

यसअघि अध्यक्षमा चन्दलाई पुर्व कप्तान पारस खड्काले चुनौती दिने अनुमान गरिएको भएपनि पारस यस कार्यकालमा चन्दलाई समर्थन गरेर अर्को पटक अध्यक्ष बन्ने रणनीतिमा पछि हटेको बताइएको छ । पारस हालै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । अब पारस भने चन्दकै प्यानलमा सचिवमा उठ्ने तयारी गरेका छन् ।

निर्वाचन तालिका:  

यसैबिच हिजो शुक्रबार साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११: ०० बजे हुनेछ भने उम्मेदवारको मनोनयन उपर उजुर र छानबिन बिहान ११: ४० बजेको समयसीमा तोकिएको छ ।

यसरी उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहान ११: ५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।

भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८५ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा विजयी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *