यु–१९ साफ च्याम्पियनसिपको तयारीमा जुट्दै घरेलु टोली नेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु मैदानमा बिहीवारदेखि शुरु हुने साफ यु–१९ च्याम्पियनसिपको अन्तिम तयारीमा जुटेको छ ।

आगामी बिहीवारदेखि काठमाडौंको दशरथ रंगशालामा साफ यु–१९ च्याम्पियनसिप हुँदैछ । सोही उमेरसमूहको च्याम्पियनसिपका लागि एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित रंगशालामा रहेको एन्फा मिडिया कन्फरेन्स हलमा पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने टोलीहरू आउन क्रम शुरु भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । यस च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिष्पर्धा गर्दैछ ।

च्याम्पियनसिपका लागि भुटान, भारत, माल्दिभ्स र बंगलादेश आज आउँदैछन् । पाकिस्तान भने बुधवार आइपुग्ने भएको छ । सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फाले जनाएको छ । नेपालले भने पछिल्लो ढेड महिनादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी गरिरहेको छ । सुनिल श्रेष्ठको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्ने हुनेछ ।

नेपाली टोलीले यस पटक घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताउनु भयो । यु–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । च्याम्पियनसिपका लागि करिव दुई करोड ७७ लाख ३२ हजार ८ सय खर्च हुने र सो रकम साफले प्रदान गर्ने एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

साथै एन्फाभित्रको आन्तरिक द्वन्द्वले च्याम्पियनसिपको आयोजनामा कुनै असर नपर्ने पनि शाहको विश्वास छ ।

यस च्याम्पियनसिपका लागि टिकट दर भिआइपीतर्फ तीन सय र साधारण प्यारापिटमा एक सय तोकिएको एन्फाले जनाएको छ ।

च्याम्पियनसिपको मार्केटिङ अधिकार र टिकेटिङ अधिकार नेपाल स्पोर्टस सेन्टरले प्राप्त गरेको पनि एन्फाले उल्लेख गरेको छ । त्यसबापत एन्फाले सो कम्पनीबाट १५ लाख रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *