चार मोडलको आइफोन १५ सार्वजनिक, मूल्य कति छ ?

एजेन्सी । एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो ।

एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी-टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो ।

तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ । एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ‘वन्डरलस्ट’रहेको थियो।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ । कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने बताएको छ । सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ ।

आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर (भारु ७९,९००) तोकेको छ । आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर (भारु ८९,९००), आइफोन १५ प्रोको ९९९ अमेरिकी डलर (भारु १,३४,९००) र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलर (भारु १,५९,९००) तोकिएको छ ।

आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेससहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ । आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो ।

दुवै मोडल ए१६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन् । यसभन्दा अघिको आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको थियो । यी मोडलहरू गुलाबी, पहेंलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रंगमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *