भारतसँग २२८ रनले हार्‍यो पाकिस्तान

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको फराकिलो हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा १२८ रनमै समेटियो ।

पाकिस्तानका कुनै पनि ब्याटर भारतको बलिङसामू खुलेर खेल्न सकेनन् । ओपनर फखर जमानले २७ रन जोडे । आघा सलमान र इफ्खिर अहमेदले समान २३ रन थपे । कप्तान बाबर आजमले १० रन जोड्नुबाहेक पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका कुलदीपले २५ रनमात्र खर्चिए । जसप्रीत बुमराह, हार्दिक पन्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले विराट कोहली र केएल राहुलको शतकमा निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा गरेको थियो । भारतका विराट कोहलीले १२२ रन बनाए । कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । कोहलीलाई क्रिजमा साथ दिएका केएल राहुलले १०६ बलमा १२ चौका र दुई छक्कासहित १११ रन जोडे ।

१२३–२ को अवस्थामा रहँदा यी दुईले अविजित २३५ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलसम्म डो¥याएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले तेस्रो विकेटका लागि गरेको यो दोस्रो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि भारतले केन्याविरुद्ध सन् १९९९ मा तेस्रो विकेटका लागि २३७ रनको साझेदारी गरेको थियो ।

पाकिस्तानविरुद्ध पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र सुभमन गिलले १२१ रनको शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत गरेका थिए । सुभमन गिलले १० चौकासहित ५८ रन जोडे । कप्तान रोहितले ४९ बलमा ६ चौका र चार छक्कासहित ५६ रन बनाए । बलिङमा भारतविरुद्ध प्रभावहीन बनेको पाकिस्तानबाट साहिनसाह अफ्रिदी र सदाब खानले समान एक विकेट लिए । यी दुई टिमबीचको खेल आइतबारका लागि तय भए पनि वर्षाले सम्भव नहुँदा ’रिजर्भ डे’मा सरेको थियो ।

यसअघि आइतबार भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । जितसँगै दुई अंक जोडेको भारत सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो । दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान भने तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *