आरकेस्ट्रा नल्याएपछि आयोजकको ज्यान लिने प्रयास

जनकपुरधाम । मेलामा आफूहरूले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्टमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरूले बिच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ । डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीनजना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बिचमा टाउको, आँखा तथा अनुहारमा निर्घात कुटपिट गरी घाइते बनाइएको छ ।

निर्घात कुटपिटबाट घाइते हुनेहरूमा मेला आयोजक समितिको तर्फबाट रहेका सिरहाका रवीन्द्र राम, सिरहा थलहाकै दीपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरा रहेका छन् । उनीहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरूले बताएका छन् ।

घाइते तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । आक्रमणमा परेकाहरूको मामा राम पुकार महराको घरमा मेला महोत्सवको व्यवस्थापनमा खटेका थिए । उनीहरूको साथबाट आक्रमणकारीहरूले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर भागेको घाइतेहरूले बताएका छन् ।

कृष्णाष्टमी मेलामा आरकेष्ट्रा नचाउने कुरा भएपनि आरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवाहरूसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातिमा नाच गराउनको लागि विद्युत् कटन सक्ने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरूलाई ती युवाहरूलाई पिछा गरेको घाइतेहरूले बताए ।

सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका-६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मंगराहातर्फ जाँदै गर्दा मंगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।

घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको विजय यादव सहित ५–६  जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । उनीहरूसँग साँझ भनाभन भएको थियो । तीनै जनालाई फाइटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भीर चोट लागेको एक जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *