लुम्बिनी प्रदेश निजामती विधेयक सर्वसम्मतले पारित

लुम्बिनी प्रदेशको शुक्रबार बसेको २५ औं प्रदेशसभा बैठकले प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको छ ।

बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव प्रदेशसभाले सर्वसम्मत रुपले पारित गरेको हो ।

यसअघि साउन १२ गतेको बैठकले विधेयकलाई प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलका लागि पठाएको थियो ।

समितिले भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेर विज्ञ र सरोकारवालासँग समेत छलफल गरेर प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी सभाको बिहीबार बसेको २४ औं बैठकमा समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले पेस गरेका थिए ।

शुक्रबारको बैठकमा प्रतिवेदनलाई पनि विधेयकको अंग बनोस भनी पेस गरिएको थियो । प्रतिवेदन सर्वसम्मतले पारित भएपछि त्यसलाई पनि समेटेर विधेयक निर्णयार्थ पेस गरिएको थियो ।
मुख्यमन्त्री चौधरीले पेस गरेको विधेयकलाई सभामुख तुलाराम घर्तीले निर्णयार्थ पेस गरेका थिए ।
सभाले ध्वनी मतका आधारमा सर्वसम्मतले विधेयक पारित गरिएको हो । विधेयक पारित भएपछि सभामुख घर्तीले प्रदेशसभाले ऐतिहासिक काम सम्पन्न गरेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *