कोशीमा एमालेबाटै तीन मन्त्री र राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। सर्वोच्च अदालतले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्टै कोशी प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शुक्रबार नै कार्कीले सपथ लिएका थिए। उनको सपथसँगै कार्कीले एमालेबाटै तीन मन्त्री र एक राज्यमन्त्री बनाएका हुन्। तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्की मन्त्री बनेका छन्।

सिर्जना राईलाई राज्यमन्त्री बनाइएको छ।

ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री, खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राई पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन्।

भोजपुरकी समानुपातिक सांसद सृजना राईलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।

कार्की ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। कार्कीसँग आवश्यक बहुमत छैन। यसअघि एमालेलाई समर्थन गरेको राप्रपा पनि सरकारमा सहभागी हुने निश्चित छैन। शुक्रबार उसले आफ्ना सांसदलाई मन्त्रीमा पठाएको छैन।

एमाले र राप्रपा मिल्दा पनि ४६ सांसद मात्रै छन्। यस्तै उपसभामुख एमालेकै रहेको र सभामुख नहुँदा उपसभामुखले नै सपथ गराउनु पर्ने भएकाले विश्वासको मत लिए कार्कीले ४५ मत मात्रै पाउने छन्।

यसअघि अल्पमतमा परेर पदमुक्त भएका कार्की फेरि पनि ३० दिनमै सरकारबाट बाहिरिने सम्भावना बढी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *