कार्यकक्षमै रोमान्स गर्ने प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द

काठमाडौँ । लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल-२०१९’ अवार्ड रद्द गरिएको छ । अकाउण्टबिलिटी ल्याब नेपालले अवार्ड रद्द गरेको हो ।

विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ । आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो ।

‘उक्त सम्बन्धमा आफ्नो रायसहितको जवाफ पठाउन भनी उपलब्ध माध्यमहरू (इमेल, मेसेन्जर, ह्वाट्सएप, फोन मेसेज, भाइबर) बाट पत्र पठाइएको थियो । जवाफमा राईले’मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु । समग्र आईकन परिवारलाई पर्न गएको क्षतिको लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छु भनेर जवाफ पठाउनुभएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।

ल्याबले राईको उक्त हर्कतप्रति खेद प्रकट गरेको छ । उक्त अवार्ड तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र मापदण्डको आधारमा दिइएको उल्लेख गर्दै विज्ञप्तिमा समाचारहरूमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । केही दिनअघि राईले कार्यकक्षमा आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *