लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक एक महिनापछि बिहीबार बस्दै छ । सभाका लागि बिजनेस नभएपछि लामो समयदेखि बैठक बस्न सकेको थिएन ।

प्रदेशसभामा छलफल भएर थप सुझावका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन समितिले बिहीबारको बैठकमा सभामा पेश गर्ने कार्यसूची छ । बैठक १ बजे बस्नेछ ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने कार्य सूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । बैठकको विशेष समयमा प्रदेशसभाका सदस्यले समसामयिक र जनसरोकारका विषयमा बोल्ने प्रदेश सभाले जनाएको छ ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विज्ञ तथा सरोकारवालहरुसँग राय सुझाव संकलन गरेको थियो ।

विज्ञ र सरोकारवालको सुझावसहितको आधारमा प्रतिवेदन तयार पारिएको उपसमितिका संयोजक भोजप्रसाद श्रेष्ठले बताए । सभामा प्रतिवेदन पेस भएको २४ घन्टापछि बस्ने अर्को बैठकले विधेयक निर्णयार्थ पेश गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *