हाइ टाइम भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

काठमाडौँ । एसिया कपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए ।

उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताए । उनले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको बताए । उनले सरकार र निजी निकायहरूले खेलाडीहरूमा लगानी बढाउनुपर्ने बताए ।

उनले भने ‘इण्डिया र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ । सबैले राम्रो महसुस गरिरहेको छन् । यो वर्ष हाम्रो लागि राम्रो भयो । हामीले कोच, समर्थक सबैको साथ र सहयोग पायौँ । विश्वकै उत्कृष्ट बलरले बल फालिरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो । नयाँ अनुभव लिएका छौँ । अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ । एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ । स्पशेली पिचहरू भए, ग्राउन्ड भए प्रिपेशन गर्न सकिन्छ । सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ ।’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताए । उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महसुस भएको बताए । उनले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको बताए ।

उनले भने ‘राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ । विराट कोहोलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो । अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो ।’

विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरू कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाई छ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो ।

क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *