एसिया कप : भारतसँग हार्दा पनि नेपालको प्रशंसा

काठमाडौँ । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको यात्रा समूह चरणमै टुंगिएको छ । यो खेल जितेको भए नेपालले समूह चरण पार गर्ने थियो भने भारत बाहिरिने थियो ।

दुवै खेलमा पराजित भएको नेपाल अंकविहीन हुँदै बाहिरिएको छ । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।

नेपालले भारतीय कप्तान रोहित शर्मालाई १६ रनमा जीवनदान दिएको थियो । सातौँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेलाई प्रहार गरेको सर्ट डिप स्क्वायर लेगमा गुलशन झालाई छाड्न पुगेका थिए ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

त्यसअघि श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए ।

उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । त्यसैगरी अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए ।

शार्दुल ठाकुरको बलमा दशौँ ओभरको पाँचौँ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका हुन् । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।

भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे ।

त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए । सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए ।

उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए ।

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट भए । उनले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन/तीन विकेट लिए भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक/ एक विकेट लिए ।

नेपालको प्रशंसा
भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व क्रिकेटमा आफ्नो छवि उच्च पारेको छ । खेल हार्दा पनि नेपालको प्रशंसा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *