एसिया कप क्रिकेट

ऐतिहासिक हुनेछ रोहित भर्सेज रोहितबीचको टस

काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३: १५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २: ४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्त्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्त्वपूर्ण रहनेछ ।

भारत छिमेकी राष्ट्र भए तापनि ऊसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुपर्यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने-सामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको यू-१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक-एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम भारतविरुद्धको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *