दोस्रो इनिङ नहुँदा भारत र पाकिस्तानले अंक बाँडे

एसिया कपमा भारत र पाकिस्तानबिचको खेल नतिजाबिहिन भएको छ। खेलको दोस्रो इनिङ वर्षाका कारण हुन नसकेपछि दुबै टोलीले समान एक एक अंक पाएका छन्।

शनिबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर जवाफी ब्याटिङ थाल्नु पर्ने पाकिस्तानलाई वर्षा बाधक भएपछि अंक बाँड्न बाध्य भएको हो। यो नतिजासँगै पाकिस्तान शीर्ष चारमा प्रवेश गरेको छ। समूह बिजेता हुने नहुने भन्ने नेपाल र भारतको खेलको नतिजाले निश्चित हुनेछ।

पहिले ब्याटिङ गरेको भारत ७ बल बाँकी छँदै २६६ रनमा अलआउट भयो।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै ईशान किसनले ८१ बलमा ८२ रन जोडे।

दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे ।

प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटमा एज लाग्दै बोल्ड हुन पुगे ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे ।

हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो ।

जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

नेपाल र भारत सोमबार भिड्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *