पाकिस्तानसँग नेपाल २३८ रनले पराजित, ओडिआई इतिहासकै खराब हार

एशिया कप क्रिकेट अन्तरगत नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ।

बुधबार पाकिस्तानको मुल्तानमा ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १०४ रनमा अलआउट भएको हो।

यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो ।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३।३ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए ।

चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए ।

सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालको ओडिआईमा यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हारेको थियो।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।

लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख इफ्तिखर अहमदबाट ५ रनमा क्याच आउट भए ।

नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नटआउट रहे ।

पाकिस्तानका शादब खानले ६।४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले २, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले ।

बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो ।

फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने ।

पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो ।

एक समय ६।१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए ।

नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए ।

सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए ।

नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जिते पनि अन्य नतिजामा निर्भर हुनुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *